आफ्नो दिन भरिको कुराकानीमा धेरै पटक मानिसले “म” शब्दको
प्रयोग गरेको हुन्छ। तर एउटा आश्चर्यको कुरा के छ भने प्रत्येक
दिन धेरै पटक “म” र “मेरो” शब्दको प्रयोग गरेर पनि मानिसलाई यस
कुराको यथार्थ जानकारी छैन। “म” भन्ने सत्ताको स्वरूप कस्तो छ,
अर्थात् “म” जुन वस्तुको सूचक हो त्यो के हो? आज मानिसले
विज्ञानद्वारा ठूलाठूला शक्तिशाली वस्तुहरू बनाइसकेको छ। उसले
संसारका धेरै समस्याहरूको उत्तर पाइसकेको छ तथा ऊ अनेक जटिल
समस्याहरूको हल निकाल्नमा तल्लीन पनि छ तर “म” भन्ने को हो,
यसको विषयमा सत्यता थाहा छैन् अर्थात् ऊ स्वयंलाई नै जान्दैन।
आज कसैलाई उसको परिचयको विषयमा सोध्यो भने तुरुन्तै आफ्नो
शरीरको नाउँ भनिदिन्छ अथवा आफूले गर्ने पेशा वा त्यसको नाउँ
भनिदिन्छ।
वास्तवमा “म” शब्द शरीरबाट भिन्न चेतनशक्ति आत्माको सूचक हो
जस्तो कि चित्रमा देखाइएको छ। मानिस (जीवात्मा) आत्मा र शरीर
मिलेर बन्दछ। जसरी शरीर पाँच तत्वहरू (पृथ्वी, जल, अग्नि, वायु
र आकाश) बाट बनेको छ, यस्तै आत्मा मन, बुद्धि र संस्कारमय
हुन्छ। आत्मामा नै विचार गर्ने र निर्णय गर्ने शक्ति हुन्छ तथा
त्यसले जस्तो कर्म गर्छ त्यस्तै अनुसारको संस्कार बन्दछ।
आत्मा एक चेतन एवं ज्योतिर्बिन्दु शक्ति हो जोकि मानिसको शरीरको
निधार (भृकुटी) मा निवास गर्दछ। जसरी रातमा आकाशमा तारा
टिमटिमाउँदा एक ज्योति बिन्दुजस्तो देखिन्छ। त्यस्तै
दिव्यदृष्टिद्वारा आत्मा पनि एक तारा जस्तै देखिन्छ। त्यसैले
एक प्रसिद्ध कथनमा भनिएको पनि छ “निधारमा चम्किन्छ एक अनौठो
तारा गरीब होस् साहेब लाग्दछ त्यो अती प्यारो।” आत्माको वास
निधारमा भएको कारणले नै मानिसले घोरिएर सोचविचार गर्दा यहीँ
हात लगाउँदछ। जब उसले भन्दछ मेरो त भाग्य नै खोटो छ त्यस बेला
पनि उसले यही नेर हात लगाउँछ। आत्माको यहाँ निवास हुने भएकोले
नै भक्तहरूले यही स्थानमा चन्दन वा टीका लगाउने प्रथा पनि छ।
यहाँबाट आत्माको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ र
मस्तिष्कको सम्बन्ध सारा शरीरसँग जोडिएको छ वा सारा तन्तुहरू
वा क्रिया तन्तुहरूसँग जोडिएको छ। आत्मा नै शान्ति अथवा दुःखको
अनुभव गर्दछ तथा निर्णय गर्दछ र त्यसैमा संस्कार पनि रहेको
हुन्छ। अतः मन तथा बुद्धि आत्माबाट भिन्न छैनन् तर आत्मा
स्वयंलाई बिर्सेर शरीर स्त्री, पुरुष, बूढो, जवान इत्यादिको
भानमा परेको छ। यही शारीरिक (दैहिक) भान दुःखको मुख्य कारण हुन
गएको हो।
उपरोक्त रहस्यलाई मोटर र ड्राइभरको उदाहरणबाट पनि स्पष्ट गर्न
सकिन्छ। शरीर मोटर समान छ तथा आत्मा यसको ड्राइभर हो अर्थात्
जसरी ड्राइभरले मोटरलाई नियन्त्रण गर्दछ त्यस्तै प्रकारले
आत्माले शरीरलाई नियन्त्रण गर्दछ। आत्मा बिना शरीर निष्प्राण छ
जसरी ड्राइभर बिना मोटर। अतः परमपिता परमात्माले भन्नुहुन्छ कि
आफूले आफूलाई चिनेपछि मात्र मानिसले यस शरीररूपी मोटरलाई चलाउन
सक्दछ तथा आफ्नो लक्ष्य (गन्तव्य स्थान) सम्म पुग्न सक्दछ।
अन्यथा जसरी ड्राइभर कार चलाउन पूर्ण सिपालु नभएमा दुर्घटना को
शिकार बन्दछ तथा कार र त्यसका यात्रीहरूलाई चोटपटक लाग्दछ त्यसै
प्रकारले जुन मानिसलाई आफ्नो बारेमा जानकारी छैन ऊ स्वयं दुःखी
र अशान्त हुन्छ नै साथ साथै आफू सँगका मित्रसम्बन्धीहरूलाई पनि
दुःखी र अशान्त पार्दछ। अतः सही सुख र शान्तिको लागि स्वयंलाई
जान्नु नितान्त आवश्यक छ।